Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

राष्ट्रिय स्तरका विकास बैंक ११ वटामा सीमित

२०७५ बैशाख २३ गते

बैंकिङ खबर । लामो समयदेखि प्रतिक्षित मेगा बैंक नेपाल लिमिटेड र टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडबीचको मर्जर प्रक्रियाले अन्ततः पूर्णता पाएको छ । यी दुई बैंकले एकआपसमा गाभिएर वैशाख ३० गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । 

एकीकृत कारोबार मेगा बैंक नेपाल लिमिटेडको नामबाट हुनेछ । मर्जरका लागि राष्ट्र बैंकले वैशाख ९ गते स्वीकृति प्रदान गरेको थियो भने कम्पनी रजिष्टारको कार्यालयबाट वैशाख १२ गते स्वीकृति पत्र प्राप्त भएको बैंकहरुले बताएका छन् ।

विकास बैंकको संख्या घट्यो
मर्जरपछि मेगा बैंकले राष्ट्र बैंकको निर्देशनअनुसारको चुक्तापुँजी पुर्याउनेछ भने राष्ट्रिय स्तरको विकास बैंकको संख्या घट्नेछ । अहिले  राष्ट्रिय स्तरको विकास बैंक १२ वटा संचालनमा रहेकोमा टुरिजम डेभलपमेन्ट बैंकको विलयसँगै यो संख्या ११ कायम हुनेछ ।

चुक्तापुँजी कति पुग्यो ?
चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक विवरण अनुसार मेगा बैंकको चुक्तापुँजी सात अर्ब ३७ करोड ६७ लाख ४३ हजार रुपैयाँ रहेको छ । टुरिजम डेभलपमेन्ट बैंकको चुक्तापुँजी दुई अर्ब ३१ करोड २२ लाख रुपैयाँ रहेको छ । जस अनुसार, एकीकृत कारोबारपछि बन्ने बैंकको चुक्तापुँजी नौ अर्ब ६८ करोड रुपैयाँ पुग्नेछ । 

चैत्र मसान्तसम्ममा ५२ करोड ४९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको मेगा बैंकको खराब कर्जा ०.९८ प्रतिशत रहेको छ । त्यस्तै, २१ करोड २४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको टुरिजम डेभलपमेन्ट बैंकको खराब कर्जा १.४० प्रतिशत रहेको छ ।